काठमाडौं । प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’ ले दर्शकमाझ उल्लेखनीय चर्चा बटुल्न थालेको छ। आगामी साउन १ गते प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरले युट्युबमा राम्रो प्रतिक्रिया पाइरहेको छ।
रिलिज भएको पाँच दिनमै ट्रेलरले ७ लाख ३० हजारभन्दा बढी भ्युज बटुल्दै युट्युबको मुभी ट्रेन्डिङमा पहिलो स्थान कब्जा गरेको छ। ट्रेलरप्रति दर्शकबाट आएका सकारात्मक प्रतिक्रियाले चलचित्रप्रतिको अपेक्षा झन् बढाएको देखिन्छ।
दुई दशकअघि डा. भोला रिजालले निर्माण गरेको ‘गौँथली’ नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) का रूपमा परिचित छ। प्रदर्शनका क्रममा ५१ दिनसम्म हलमा चलेको उक्त चलचित्रको नामलाई निरन्तरता दिँदै यसपटक उनका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ कथासहित ‘गौँथली’ निर्माण गरेका हुन्।
नयाँ ‘गौँथली’ले ग्रामीण परिवेशमा हुर्किएकी एक युवतीको शिक्षा प्राप्त गर्ने सपना, बालविवाह, सामाजिक विभेद र संघर्षको कथा प्रस्तुत गर्छ। ट्रेलरमा सिम्रन खड्काले निभाएकी ‘गौँथली’ पात्रको पढाइप्रतिको लगाव, परिस्थितिसँगको संघर्ष र समाजको परम्परागत सोचसँगको भिडन्तलाई भावनात्मक ढंगले चित्रण गरिएको छ।
विवाहपछि पनि पढाइलाई निरन्तरता दिन चाहने गौँथलीको सपनामाथि परिवार र समाजले अवरोध सिर्जना गर्छ। उनको पुस्तक जलाइने दृश्य र शिक्षाको अधिकारका लागि गरिएको संघर्षले ट्रेलरलाई थप प्रभावशाली बनाएको छ।
चलचित्रमा अरुण क्षेत्रीले फरक शैलीको सरल र निर्दोष स्वभावको पात्र निर्वाह गरेका छन्। उनको अभिनयले दर्शकको विशेष ध्यान खिचेको छ भने सिम्रन खड्काले भावनात्मक भूमिकालाई प्रभावकारी रूपमा प्रस्तुत गरेकी छन्।
‘छोरीलाई पढाउनुपर्छ’ भन्ने सशक्त सामाजिक सन्देश बोकेको चलचित्रले पहाडी समाजको यथार्थ, परम्परा र परिवर्तनको आवश्यकतालाई उजागर गर्ने प्रयास गरेको छ। ट्रेलरले पाएको सकारात्मक प्रतिक्रियाले चलचित्रले बक्स अफिसमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा निर्माण भएको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको निर्देशन डा. कपिल रिजालले गरेका हुन्। पटकथा तथा संवादमा निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ। चलचित्रका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् भने कार्यकारी निर्माता सरला रिजाल रहेकी छन्।
हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको चलचित्र साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।



