काठमाडौं । मानवता, निस्वार्थ प्रेम र स्वीकार्यताको सन्देश बोकेको म्युजिक भिडियो ‘मायाको मफलर’ सार्वजनिक गरिएको छ। सोलमन प्रोडक्सनको प्रस्तुतिमा तयार भएको भिडियोले साना–साना दयालु व्यवहारले पनि कसैको जीवनमा गहिरो सकारात्मक प्रभाव पार्न सक्ने भाव व्यक्त गरेको छ।
भिडियोले मानिसलाई बाहिरी रूप, आर्थिक अवस्था वा सामाजिक हैसियतका आधारमा होइन, मानवताको दृष्टिकोणबाट हेर्न प्रेरित गर्छ। प्रत्येक व्यक्तिले सम्मान, माया र स्वीकार्यता पाउनुपर्ने सन्देशलाई भावुक र संवेदनशील शैलीमा प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ।
गीतमा अमृत शर्माको शब्द, पुस्तक प्रसादको संगीत तथा दिनेश गौतमको स्वर रहेको छ। संगीत संयोजन एस.के. बच्चाले गरेका छन् भने रेकर्डिङ र मिक्सिङ कुमार केसीले फिल स्टुडियोमा सम्पन्न गरेका हुन्।
म्युजिक भिडियोको निर्देशन अशोक भुजेलले गरेका छन्। मनिता सुन्दास र विनायक पन्तको कथामा आधारित भिडियोमा नविन गुरुङको छायांकन, बूमा खत्रीको सम्पादन तथा रङ संयोजन (कलर ग्रेडिङ) रहेको छ। आर्चर पन्त कार्यकारी निर्माता हुन् भने रोशनी कार्की विशेष भूमिकामा देखिएकी छन्।
भिडियोमा अशोक भुजेल, मनिता सुन्दास, आयुष आचार्य, विनायक पन्त, श्रीजना भुजेल, राज भुजेल, अभिषेक शाह, प्रतीक्षा भुसाल, विक्की शाह र बैजु बावराको अभिनय रहेको छ।
सोलमन प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको ‘मायाको मफलर’को पोस्ट–प्रोडक्सन द डान्फेसले गरेको हो।
निर्माण टिमले यस परियोजनामा साथ दिने सम्पूर्ण कलाकार, प्राविधिक, प्रायोजक, सहयोगी, परिवार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै नेपाली संगीत तथा स्वतन्त्र चलचित्र निर्माणलाई निरन्तर साथ र समर्थन गर्न दर्शक–श्रोतासँग आग्रह गरेको छ।



