चितवन । चितवन राष्ट्रिय निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले जङ्गली हात्ती ‘ध्रुवे’लाई स्याटेलाइट रेडियो कलर जडान गरेको छ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रका बासिन्दामाथि पटक–पटक आक्रमण गर्दै हालसम्म २५ जनाको ज्यान लिइसकेको ध्रुवेलाई बेहोस बनाउने औषधि (डार्ट) प्रयोग गरी नियन्त्रणमा लिएपछि घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रेडियो कलर जडानपछि हात्तीको दाह्रा पनि काटिएको छ। आवश्यक प्रक्रिया पूरा गरेपछि हात्तीलाई पुनः जंगलमै छाडिएको उनले बताए।
उनका अनुसार स्याटेलाइट रेडियो कलर जडानसँगै अब ध्रुवेको अवस्थिति र गतिविधिबारे वास्तविक समयमा जानकारी प्राप्त गर्न सकिनेछ। जिपिएस प्रविधिमार्फत उसको आवतजावतको निगरानी गरी बस्ती नजिक पुग्नुअघि नै स्थानीयलाई सचेत गराउन सहज हुने विश्वास निकुञ्जको छ।
ध्रुवेलाई रेडियो कलर जडान गर्ने कार्यमा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक कर्मचारी तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूको संयुक्त टोली संलग्न थियो।
गत असार २० गते भरतपुर महानगरपालिका–२३ मा ध्रुवेको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान गएको थियो। उक्त घटनापछि निकुञ्जले ध्रुवेको खोजी, निगरानी र नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेको थियो।



