काठमाडौं । आगामी साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘लज्जावती’ले आफ्नो पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरेको छ। बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने सहिमा श्रेष्ठ र रवी ओडको सुमधुर स्वर सुन्न सकिन्छ। उत्साहपूर्ण शैलीमा तयार पारिएको गीतलाई दर्शकमाझ चलचित्रको पहिलो सांगीतिक प्रस्तुतीका रूपमा ल्याइएको निर्माण पक्षले जनाएको छ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजालको आकर्षक नृत्य देख्न सकिन्छ। निर्माण टिमले गीतको दृश्य र संगीत दुवैले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ।

आहा फिल्म्सको ब्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्।
चलचित्रका प्रस्तुतकर्ता सौरभ ओली हुन् भने कमलप्रसाद शर्मा र सन्दीपकुमार रोका निर्माता रहेका छन्। दिनेशराज बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रमा दिव्यराज सुवेदीको छायांकन रहेको छ।
चलचित्रका लाइन प्रोड्युसर हरिप्रसाद शिवाकोटी हुन्। क्यानडामा बसोबास गर्दै आएका उनले नेपालमा प्रदर्शन भएकै मितिमा चलचित्रलाई क्यानडामा समेत रिलिज गर्ने तयारी गरेका छन्।
‘लज्जावती’मा मुकुन भुषाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सीपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेललगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ। चलचित्रलाई कुबेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्नेछ।
https://youtu.be/ELdMGFBZ6-o?list=RDELdMGFBZ6-o



