काठमाडौं । अभिनेत्री मौसमी मल्ल लामो अन्तरालपछि ‘म हुँ सृष्टिको फक्ताङलुङ’ बोलको गीतको भिडियोमार्फत दर्शकमाझ फर्किएकी छन्। गायिका नीता आचार्यको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएसँगै मौसमीको कमब्याकले दर्शकमाझ विशेष चर्चा बटुलेको छ।
गोविन्द राईको निर्देशनमा तयार भएको भिडियोमा मौसमी मल्ल नेपाली मौलिक भेषभूषामा विभिन्न ऐतिहासिक तथा सांस्कृतिक पात्रको रूपमा प्रस्तुत भएकी छन्। नेपालको पहिचान, संस्कृति र प्राकृतिक सौन्दर्यलाई कलात्मक रूपमा समेटिएको भिडियोले विशेष आकर्षण थपेको छ।

गीतको भिडियो सार्वजनिक गर्दै मौसमीले आफू लामो समयपछि दर्शकमाझ आएको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गर्दै हाल आफू नेपालमै रहेको जानकारी पनि दिएकी छन्।
गीतमा मनु लोहोरुङ राईको शब्द, साज सिंहको संगीत तथा एरेन्ज रहेको छ। सुरज प्रधानले रेकर्डिङ गरेका हुन्।
भिडियोको छायांकन सौरभ लामा (डीओपी) र हिमाल श्रेष्ठले गरेका छन् भने सम्पादन सन्देश शाह, रङ संयोजन राजेन्द्र मोक्तान तथा भिएफएक्स सत्यम रानाको रहेको छ। ड्रोन छायांकन विशालले गरेका हुन्।



