चितवन । भरतपुर महानगरपालिका–१६ गणेश मन्दिरस्थित रहेको रोयल फार्मासिटी औषधि फ्याक्ट्रीमा एसीको कूलिङ ग्यास भर्ने क्रममा ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार मिति २०८३ साउन ८ गते दिउँसो करिब ३:२० बजे फ्याक्ट्रीको दोस्रो तल्लामा एसीमा कूलिङ ग्यास भर्ने क्रममा Kalton 410A नामक ग्यास सिलिन्डर अचानक विस्फोट भएको थियो।
विस्फोटमा एसीमा ग्यास भर्न बाहिरबाट आएका टेक्निसियन पर्साको पर्सौनी गाउँपालिका–५ निवासी २८ वर्षीय इम्तियाज देवान गम्भीर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ र हाल नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, भरतपुर महानगरपालिका–१२ निवासी ३० वर्षीय प्रमोद कोइराला पनि गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर लगिएकोमा अपराह्न ४:०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाको कारण र विस्फोटबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



