काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘पार्वती’को टिजर सार्वजनिक गरिएको छ। गुरु पूर्णिमाको अवसर पारेर बुधबार सार्वजनिक गरिएको टिजरले अटिजम भएकी दिदी र भाइबीचको आत्मीय सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।
एक मिनेट ५७ सेकेन्ड लामो टिजरमा पार्वतीको भूमिकामा रहेकी नीता ढुङ्गाना र उनका भाइको भूमिकामा देखिएका अशोक दर्जीलाई केन्द्रमा राखिएको छ। दिदी–भाइबीचको निस्वार्थ प्रेम, साथ र भावनात्मक सम्बन्धले टिजरलाई संवेदनशील बनाएको छ। आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको कथाप्रति टिजरले दर्शकमा थप कौतुहलता जगाएको छ।
चलचित्रको टिजर सम्पादन साहिल खानले गरेका हुन्। यसअघि सार्वजनिक भएको रत्यौली गीत ‘नौतुना रेलैमा’ले पनि दर्शकमाझ राम्रो चर्चा बटुलिसकेको छ।
चलचित्रको कथा तथा निर्देशन नीता ढुङ्गानाकै रहेको छ भने पटकथा शिवम् अधिकारीले तयार पारेका हुन्। चलचित्रमा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।
सुदीप बरालको छायांकन रहेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी छ। शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर हुन् भने हरिहर अधिकारी निर्माता रहेका छन्।
चलचित्रका गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ। हर्क साउदको शब्द, दीपक शर्मा, बाबुल गिरी र प्रशान्त सिवाकोटीलगायतको संगीत रहेको चलचित्रमा संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका छन्।
रोयल भीमसेनले पोस्टर डिजाइन गरेको चलचित्रलाई एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले देशभर वितरण गर्नेछन्। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।


