काठमाडौं । आगामी भदौ १९ गते (सेप्टेम्बर ४)देखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ककाकिकी’को लिरिकल थिम गीत सार्वजनिक गरिएको छ। बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले चलचित्रप्रतिको दर्शकको उत्साह थप बढाएको छ।
गीतमा आदित्य प्रधानको स्वर रहेको छ भने शिशिर थटालको शब्द तथा संगीत सुन्न सकिन्छ। यसअघि सार्वजनिक गरिएको फर्स्ट लुक भिडियोमा गीतको छोटो अंश समावेश गरिएको थियो, जसले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। अहिले पूरा लिरिकल गीत सार्वजनिक भएसँगै यसको चर्चा अझ बढ्ने अपेक्षा गरिएको छ।
चलचित्रको फर्स्ट लुक भिडियोले यसअघि नै सामाजिक सञ्जालमा उल्लेखनीय चर्चा कमाएको थियो। विशेषगरी गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीको क्यारेक्टर लुकले दर्शकको ध्यान तानेको थियो। फर्स्ट लुकपछि चलचित्रप्रेमीहरूले नेपाली सिनेमामा नयाँ शैली, फरक प्रस्तुति र मौलिक कथावस्तु हेर्न पाइने अपेक्षा व्यक्त गर्दै आएका छन्।
पोस्टर सार्वजनिक गरिसकेको निर्माण टिमले अब छिट्टै चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी गरिरहेको छ। लिरिकल थिम गीत सार्वजनिक भएसँगै प्रचार–प्रसार अभियानलाई पनि थप तीव्र बनाइएको छ।
बिक्की अगरवाल र श्रद्धा प्रसाईँको संयुक्त निर्देशनमा बनेको चलचित्रमा अनीश बुढाथोकी सहायक निर्देशकका रूपमा रहेका छन्। चलचित्रमा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल र एलिसा भोगलगायत कलाकारहरूको अभिनय रहेको छ।
सुमन अगरवालको अवधारणामा निर्माण भएको चलचित्रको कथा तथा पटकथा बिक्की अगरवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले संयुक्त रूपमा तयार गरेका हुन्। चलचित्रको छायांकन सुदीप बरालको टोलीले गरेको हो। टाइटल आर्ट ट्राइडेन्ट कन्सेप्टले तयार पारेको हो भने पोस्टर डिजाइन कार्यालयले गरेको छ।
फर्स्ट लुक, पोस्टर र लिरिकल थिम गीतले ‘ककाकिकी’लाई यस वर्षको फरक स्वादको नेपाली चलचित्रका रूपमा स्थापित गर्न सफल भएको निर्माण टिमको विश्वास छ। अब ट्रेलर सार्वजनिक भएपछि चलचित्रप्रतिको दर्शकको उत्सुकता अझ बढ्ने अपेक्षा गरिएको छ।


