काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ले डिजिटल प्लेटफर्ममा जबरजस्त सफलता हासिल गरेको छ। सार्वजनिक भएको चार दिनमै गीतले युट्युबमा १३ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ भने टिकटकमा २ लाख ५० हजारभन्दा बढी भिडियो निर्माण भइसकेका छन्। फेसबुक र इन्स्टाग्रामका रील्समा समेत गीत व्यापक रूपमा ट्रेन्ड भइरहेको छ।
गीतको लोकप्रियतामा यसको लोक फ्लेभर, कर्णप्रिय धुन र आकर्षक प्रस्तुतीकरणलाई मुख्य कारण मानिएको छ। अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको गीतमा अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर रहेको छ। सहजै गुनगुनाउन मिल्ने धुन र लोकप्रिय गायक–गायिकाको प्रस्तुतिले गीतलाई छोटो समयमै लाखौं दर्शकमाझ पुर्याएको छ।
गीतको भिडियोमा पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङको आकर्षक नृत्य देख्न सकिन्छ। विशेषगरी पारस र दिव्याको अनस्क्रिन केमिस्ट्री तथा सियोन श्रेष्ठले तयार पारेको ‘हुक स्टेप’ सामाजिक सञ्जालमा भाइरल बनेको छ। यही नृत्य शैलीलाई पछ्याउँदै सर्वसाधारणदेखि चर्चित कलाकारसम्मले टिकटक र रील्स बनाइरहेका छन्।
पहिलो पोस्टर सार्वजनिक भएदेखि नै चर्चा कमाएको ‘बेहुली’लाई यो गीतको सफलताले थप उचाइ दिएको छ। गीतको लोकप्रियतासँगै चलचित्रप्रतिको उत्सुकता पनि उल्लेखनीय रूपमा बढेको निर्माण पक्षको विश्वास छ।
सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको चलचित्रमा पारस, दिव्या, सुशान्त र पदमसँगै सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारहरूको अभिनय रहेको छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेको यस चलचित्रमा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता, दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर रहेका छन्।
डिजिटल प्लेटफर्ममा गीतले पाएको उत्साहजनक सफलतापछि अब दर्शकको नजर भदौ २६ गतेदेखि प्रदर्शनमा आउने ‘बेहुली’तर्फ केन्द्रित भएको छ।


