काठमाडौं । आगामी असोज २ गतेबाट देशभर प्रदर्शनमा आउने नेपाली फिल्म ‘कार्की साइला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले प्रचारप्रसारको पहिलो चरणस्वरूप गीत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र प्रियाना आचार्यको रोमान्टिक प्रस्तुति देख्न सकिन्छ। दुवै कलाकारबीचको आकर्षक केमेस्ट्रीलाई पत्रकार तथा उपस्थित दर्शकले निकै रुचाएका छन्।
गीतमा श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको छ भने शब्द विष्णु नेपाल नेपालीले लेखेका हुन्। संगीत संकेत अगस्तीको रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन्। निर्माण पक्षले गीतले दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने विश्वास व्यक्त गरेको छ।
फिल्ममा जितु नेपाल र प्रियाना आचार्यसँगै सुशील पोखरेल, बिरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारीलगायत कलाकारहरूको अभिनय रहेको छ।
डम्बर राईको कथामा निर्माण भएको फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका हुन्। पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले संयुक्त रूपमा तयार पारेका छन्। फिल्ममा बालकुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको छ भने अनन्त राई कार्यकारी निर्माताका रूपमा रहेका छन्।
फिल्मको डीओपी डम्बर राई हुन् भने छायांकन नारायण गुरुङले गरेका छन्। सम्पादन सन्देश शाहको रहेको छ भने सह–सम्पादन सन्दिप डाँगीले गरेका छन्।
मुख्य सहायक निर्देशक रोजल थापा, सहायक निर्देशक गीत बिष्ट र सजना थापा रहेका छन्। फिल्ममा दिप्सन लिम्बु र संकेत अगस्तीको संगीत रहनेछ भने गीतहरूमा दिप्सन लिम्बु, श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर सुन्न सकिनेछ।
यसैगरी, फिल्मको प्रोडक्सन म्यानेजमेन्ट सी.बी. भण्डारीले सम्हालेका छन् भने शृङ्गार रवि केसीले गरेका छन्। फिल्मको पोस्ट–प्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्सले गरिरहेको निर्माण पक्षले जनाएको छ।


