काठमाडौं । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘झिँगेदाउ २’को टिजर सार्वजनिक गरिएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित विशेष कार्यक्रममा निर्माण टिमले चलचित्रको १ मिनेट ५१ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो।
टिजरले पहिलो श्रृंखलाको पारिवारिक भावनालाई निरन्तरता दिँदै देउरानी–जेठानीबीचको मनमुटाव, परिवारभित्रको द्वन्द्व र सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरेको छ। सुरुवातमै हिउँवाला गौतम मध्यरातमा घर छोडेर गएको दृश्य देखाइन्छ भने त्यसपछि परिवारका सदस्यहरू उनको खोजीमा निस्किएको दृश्यले कथाप्रति थप जिज्ञासा जगाउँछ।
टिजरमा पहिलो भागको स्वादलाई कायम राख्दै केही नयाँ रहस्य र मोडहरू पनि समेटिएका छन्। विशेषगरी अभिनेता आर्यन सिग्देलको रहस्यमयी उपस्थितिले दर्शकको ध्यान खिचेको छ। साङ्लोले बाँधिएको अवस्थामा उनको प्रस्तुति देखाइएकाले कथामा उनी कुन भूमिकामा छन् भन्ने कौतुहलता बढाएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘झिँगेदाउ २’ सुपरहिट चलचित्र ‘झिँगेदाउ’को सिक्वेल हो। चलचित्रमा केकी अधिकारी र आँचल शर्मा देउरानी–जेठानीको भूमिकामा छन् भने महेश त्रिपाठी र कुशल बिष्ट दाजुभाइको भूमिकामा देखिएका छन्।
यसका साथै सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोदकुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाको पनि अभिनय रहेको छ।
चलचित्रको कथा गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् भने पटकथा तथा संवाद परिच्छेद सेनको रहेको छ। सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी रहेको चलचित्र कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा निर्माण भएको हो।
प्राविधिक पक्षमा चलचित्रमा विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ। निर्माण व्यवस्थापन ईश्वर घिमिरेले सम्हालेका छन् भने चलचित्रलाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्नेछ।
टिजर सार्वजनिक कार्यक्रममा उपस्थित अधिकांश चलचित्रकर्मीले यसको खुलेर प्रशंसा गरेका थिए। पारिवारिक कथावस्तुलाई भावनात्मक र मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको टिजरले दर्शकको मन जित्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ। पहिलो भागले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेकाले यसको सिक्वेलप्रति पनि दर्शकको अपेक्षा उच्च रहेको छ।



