काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’को नयाँ गीत ‘गुराँस फुल्दा’ सार्वजनिक गरिएको छ। मेलिना राईको स्वरमा रहेको गीतलाई निर्माण पक्षले सार्वजनिक गरेको हो।
गीतमा दयाराम दाहालको शब्द रहेको छ भने वसन्त सापकोटाले रि–एरेन्ज गरेका छन्। यसअघि चलचित्र ‘सुपरस्टार’मा समावेश यो गीतको ओरिजिनल भर्सनमा सचिन सिंहको संगीत तथा साधना सरगमको स्वर रहेको थियो।
सार्वजनिक गीतको भिडियोमा प्रियंका कार्की र वर्षा राउत फिचर्ड छन्। गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा पवन सुश्लिङको छायांकन, सम्पादन तथा कलर संयोजन रहेको छ।
आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको ‘मास्टर्नी’ क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा जनरामा तयार पारिएको छ। चलचित्रमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालगायत कलाकारको अभिनय रहेको छ।
सुवेन्दु घोषको निर्देशनमा बनेको चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन्। सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेका छन्।
चलचित्रको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतको रहेको छ। संवादमा प्रियंका र शान बस्नेतले सहकार्य गरेका छन्। युवराज इन्दोरियाको छायांकन तथा राजा सिंह सिदुको सम्पादन रहेको चलचित्र भदौ ५ गतेदेखि प्रदर्शनमा आउनेछ।
चलचित्रमा रोहित शाक्यको संगीत तथा त्रिशाला गुरुङको स्वर रहेको छ। ‘मास्टर्नी’लाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।


