काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’का गीतले दर्शक तथा संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन्। चलचित्रका सार्वजनिक दुई गीत ‘नभन्नू कोइसित’ र ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ले युट्युबमा उत्साहजनक प्रतिक्रिया पाएपछि निर्माण टिम उत्साहित बनेको छ।
‘नभन्नू कोइसित’ गीतलाई लिएर सिबी राना मगरले प्रतिक्रिया दिँदै लामो समयपछि पञ्चेबाजामा नयाँ स्वादको गीत सुन्न पाएको उल्लेख गरेका छन्। यस्तै, टेकेन कँडेलले दुवै गीतको प्रशंसा गर्दै ‘नभन्नू कोइसित’लाई १० मा ८ र ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’लाई १० मा ९.९९ अंक दिएका छन्।
निर्माण टिमले केही दिनअघि लोकलयमा आधारित ‘नभन्नू कोइसित’ सार्वजनिक गरेको थियो। यसअघि चलचित्रको शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक गरिएको थियो। दुवै गीतले दर्शकको ध्यान खिचेपछि चलचित्रको प्रचारलाई समेत तीव्रता दिइएको निर्माण पक्षले जनाएको छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बा : एक योद्धा’ले सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई कथाको मुख्य विषय बनाएको छ। चलचित्र भदौ १९ गतेदेखि प्रदर्शनमा आउनेछ।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ।
संगीतकार तथा गायकसमेत रहेका हरि लम्सालको यो पहिलो फिचर फिल्म निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा पनि लम्सालले नै तयार पारेका हुन्।
वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन्। शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।


