तपाईको प्रतिक्रिया
काठमाडौं । चौधरी ग्रुपका निर्वाण चौधरी र अभिनेता प्रदीप खड्काको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६’को टिजर सार्वजनिक भएको छ। नेपाली, भारतीय र भुटानी निर्माताको संयुक्त लगानीमा बनेको फिल्मको टिजर शुक्रबार सार्वजनिक गरिएको हो।
फिल्ममा नेपाली अभिनेता अनुपविक्रम शाही र आना शर्मासँगै भुटानी अभिनेता संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी लामोलगायत कलाकारको अभिनय रहेको छ।
साङ्गे शेल्ट्रिम फिल्म्स र पिक एक्सभी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका लेखक तथा निर्देशक डीडी किन्ले हुन्। मूल रूपमा भुटानको राष्ट्रिय भाषा ‘जोङ्खा’मा निर्माण गरिएको फिल्म नेपाली र भारतीय भाषामा समेत प्रदर्शन गर्ने तयारी छ।
निर्वाण चौधरीको स्वामित्वमा रहेको पिक एक्सभी फिल्म निर्माण कम्पनी ‘टनेल २६’को संयुक्त निर्माता हो। उनका पिता तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विसं २०३९ मा ‘वासुदेव’ निर्माण गरेका थिए। त्यसको करिब चार दशकपछि निर्वाणले फिल्म निर्माणमा कदम अघि बढाएका हुन्।
करिब ६ महिनाअघि छायांकन सकिएको फिल्मको पोस्ट प्रोडक्सनको काम थाइल्यान्डमा भइरहेको निर्माण पक्षले जनाएको छ। फिल्मलाई आगामी अक्टोबरमा प्रदर्शन गर्ने तयारी छ।
अभिनेता प्रदीप खड्का फिल्ममा क्रिएटिभ निर्माताका रूपमा समेत जोडिएका छन्। निर्माणतर्फ यो उनको चौथो फिल्म हो। यसअघि उनले ‘स्केप’, ‘ठूलो मान्छे’ र ‘एक्लो’मा निर्माण सहकार्य गरेका थिए।
फिल्ममा तीन देशका कलाकार तथा प्राविधिकको सहभागिता रहेको छ। निर्माण पक्षका अनुसार ‘टनेल २६’ हलमा प्रदर्शनसँगै भारतको एक प्रतिष्ठित ओटीटी प्लेटफर्ममा समेत रिलिज हुनेछ।
दीर्घ गुरुङ र साङ्गे टी. तेन्जिङको छायांकन रहेको फिल्ममा राजु तामाङको एक्सन निर्देशन, कृष्ण शर्माको प्रोडक्सन डिजाइन र पेमा लामोको प्रोडक्सन व्यवस्थापन रहेको छ। फिल्मको सम्पादन निर्देशक डीडी किन्लेले गरेका छन्।
