काठमाडौं । आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘कार्की साइँला’को आधिकारिक टिजर सार्वजनिक भएको छ। नागपञ्चमीको अवसर पारेर निर्माण टिमले ‘मुभिज डिजिटेनमेन्ट’ युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो।
सार्वजनिक टिजरमा मुख्य पात्र कार्की साइँलाको भूमिकामा रहेका जितु नेपालको संघर्षपूर्ण जीवनलाई प्रस्तुत गरिएको छ। भारी बोकेर गुजारा चलाउने कार्की साइँलालाई अविवाहित भन्दै गाउँका साथीहरूले जिस्क्याएपछि उनले सात दिनभित्र विवाह गरेर देखाउने अठोट गर्छन्। यही अठोट वरिपरि चलचित्रको कथा घुम्ने संकेत टिजरले दिएको छ।
टिजरमा जितु नेपालसँगै प्रियाना आचार्य, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा र मान्शी शर्मालगायत कलाकारलाई देख्न सकिन्छ।
राजेन्द्र बस्नेतको निर्देशनमा बनेको चलचित्रको कथा डम्बर राईले लेखेका हुन्। पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीको रहेको छ। बालकुमार राई र निर्भिक बञ्जारा निर्माता तथा अनन्त राई कार्यकारी निर्माता छन्।
दिप्सन लिम्बु र संकेत अगस्थीको संगीत रहेको चलचित्रको ‘लग्यौ परान’ बोलको गीत यसअघि नै सार्वजनिक भइसकेको छ। उक्त गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।
सिबी भण्डारी प्रोडक्सन म्यानेजर र रबी केसी शृंगारमा रहेका छन्। चलचित्रको पोस्ट प्रोडक्सन ग्लोबल रिल मोशन पिक्चर्सले गरेको हो भने मुभिज डिजिटेनमेन्ट डिजिटल पार्टनर रहेको छ। चलचित्रको वितरण जिम्मेवारी कुबेर फिल्म्सले लिएको छ।


