काठमाडौं । भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक भएको छ। निर्माण पक्षले बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो।
अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको गीतमा अर्जुन सापकोटाकै संगीत तथा हुकलाइन छ भने सन्तोष सापकोटाले शब्द लेखेका छन्। गीतले गाउँघरमा हुने उत्सव, रमाइलो र सामूहिक खुसीको माहोललाई प्रस्तुत गरेको छ।
गीतको भिडियोमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे र खड्गबहादुर पुनमगरलगायत कलाकार देखिएका छन्। अर्जुन सापकोटा, पवित्रा शाकी ‘मिस पवि’, सजिना खनाल र निश्चल खड्काको नृत्यसमेत भिडियोमा समेटिएको छ। मिग्मा डि लेप्चाले कोरियोग्राफी गरेका हुन्।
जर्सिङ पौवामा छायांकन गरिएको गीतको भिडियोमा चलचित्रको कथाअनुसार गाउँमा हुने उत्सवको दृश्यलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। गीत सार्वजनिक भएपछि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षको दाबी छ।
निर्देशक बिक्की अगरवालका अनुसार गीतले चलचित्रको ग्रामीण परिवेश र उत्सवमय वातावरणलाई झल्काउँछ। चलचित्रमा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनालीलगायत कलाकारको अभिनय रहेको छ।
सुदिप बरालको छायांकन रहेको चलचित्रको पटकथा बिक्की अगरवाल, सरोज भण्डारी र विकास अर्यालले लेखेका हुन्। श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको चलचित्रलाई सेभेन सिज इन्टरनेशनल फिल्मसले विश्वव्यापी रूपमा वितरण गर्दैछ।


