काठमाडौं । लेखक सुमन गजमेरले निर्देशनमा डेब्यु गर्ने भएका छन्। रे अफ आर्ट्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘हाम्रो सानो घर’बाट गजमेरले निर्देशन यात्रा सुरु गर्न लागेका हुन्।
चलचित्रको कथा, पटकथा तथा निर्देशनको जिम्मेवारी गजमेर स्वयंले सम्हाल्नेछन्। निर्माण पक्षका अनुसार चलचित्रले जेनेरेसन–जेड पुस्ताको प्रेम, सपना, सम्बन्ध र सामाजिक यथार्थलाई कथाको मुख्य आधार बनाउनेछ।
प्रेमकथामा आधारित चलचित्रमा मनोरञ्जनसँगै जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र नयाँ पुस्ताका चाहना तथा संघर्षलाई प्रस्तुत गरिनेछ।

गजमेरले यसअघि ‘रंगी’, ‘एक्का तीन : च्याप्टर १’ र ‘शेर्वा’लगायत चलचित्रमा लेखकका रूपमा काम गरिसकेका छन्। अब ‘हाम्रो सानो घर’मार्फत उनी निर्देशकका रूपमा दर्शकमाझ आउन लागेका हुन्।
रे अफ आर्ट्सको निर्माणमा रहेको अर्को चलचित्र ‘परिवार’ भने अहिले पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा छ। कम्पनीले चलचित्रसँगै म्युजिक भिडियो, सिरिज तथा डकुमेन्ट्री निर्माणमा समेत काम गर्दै आएको छ।
‘हाम्रो सानो घर’का कलाकार तथा प्राविधिक टोली छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ। नयाँ पुस्ताको प्रेम र सामाजिक विषयलाई फरक शैलीमा प्रस्तुत गर्ने तयारीमा रहेको चलचित्रको निर्माण घोषणासँगै नेपाली फिल्म क्षेत्रमा चासो बढेको छ।


