काठमाडौं । हरि लम्सालको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।
चार मिनेट हाराहारीको ट्रेलरमा सन्तानको सुख, भविष्य र खुसीका लागि बुवाले गर्ने त्याग तथा संघर्षलाई कथाको केन्द्रमा राखिएको छ। सन्तानको भविष्यका लागि आफ्नो घरसमेत त्याग्न तयार हुने बुवाले अन्ततः आफ्नै सन्तानबाट पाउने पीडालाई ट्रेलरमा भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।
समयसँगै आफूलाई जन्मदिने र हुर्काउने बाबुआमाप्रति सन्तानको जिम्मेवारी र संवेदनशीलता हराउँदै गएको सामाजिक यथार्थलाई पनि चलचित्रले उठाएको निर्माण पक्षको भनाइ छ। ट्रेलरले परिवारमा आएको विखण्डनपछि मुख्य पात्रले लिने कठोर निर्णयलाई भने रहस्यमै राखेको छ।
परिवारको खुसी हराएपछि बुवाले के निर्णय लिन्छन् भन्ने कौतुहलतासहित ट्रेलर अन्त्य गरिएको छ। यसले चलचित्रको क्लाइमेक्सप्रति दर्शकको चासो बढाउने देखिन्छ।
‘बा : एक योद्धा’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउनेछ। बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औंसीको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको चलचित्रले नेपाली परिवारभित्र बुवाले सन्तानका लागि गर्ने त्याग, संघर्ष र जीवनभरका चुनौतीलाई पर्दामा उतारेको छ।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ।
नेपाली संगीत क्षेत्रमा सक्रिय संगीतकार तथा गायक हरि लम्सालले यसै चलचित्रमार्फत फिचर फिल्म निर्देशनमा डेब्यु गरेका हुन्। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा पनि लम्सालकै हो।
वसन्त लम्साल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता अनिल बुढाथोकी, लाइन प्रोड्युसर अर्जुन पौडेल र सह–निर्माता कृष्ण काफ्ले हुन्। शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा छन्।
चलचित्रलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले देशव्यापी वितरण गर्नेछ।


