काठमाडौं । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा तयार भएको चलचित्र ‘बुकी’मा समावेश ‘तनमनमा भलिबल’ बोलको गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले गीतको भिडियो सार्वजनिक गरेको हो।
मोहन केसीको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा प्रमोद खरेल र रचना रिमालको स्वर छ। भलिबल खेलप्रति समर्पित गीतमा खेलाडीको मेहनत, संघर्ष, त्याग र देशको नाम चिनाउने सपनालाई प्रस्तुत गरिएको छ।
‘भलिबल खेलेरै देश चिनाउने’ भाव बोकेको गीत विशेषगरी भलिबल खेलाडीप्रति समर्पित छ। खेलाडीले सफलताका लागि गर्ने निरन्तर अभ्यास र समर्पणलाई गीत तथा भिडियोमा प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन्। भिडियोमा भलिबलप्रतिको आकर्षण, खेलाडीको अभ्यास तथा प्रतियोगिताका दृश्यसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा रहेको भलिबलप्रतिको क्रेजलाई देखाइएको छ।
बाग्लुङको ढोरपाटन तथा आसपासका क्षेत्रमा छायांकन गरिएको भिडियोले स्थानीय परिवेश र प्राकृतिक सौन्दर्यलाई समेत समेटेको छ।
‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’को प्रस्तुति रहेको चलचित्रमा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा छन्। प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईंलगायत कलाकारको पनि अभिनय रहेको छ।
चलचित्रको छायांकन काठमाडौं, पोखरा र बाग्लुङको ढोरपाटनलगायतका स्थानमा गरिएको छ। लक्ष्मण सापकोटा, अमिषा थापा कौचा र रमेश थापा निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रकाश आले र राजन केसी हुन्।
राजेश थापा र बसुन्धरा खरेल क्रिएटिभ प्रोड्युसर तथा जितु थापा र सुनील बुढाथोकी को–प्रोड्युसर छन्। विकास गन्दर्भको छायांकन रहेको चलचित्रलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्।


