काठमाडौं, भदौ ६ । असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जदौ’को टिजर सार्वजनिक भएको छ। हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत शनिबार करिब एक मिनेट लामो टिजर सार्वजनिक गरिएको हो।
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा तयार भएको चलचित्रको टिजरमा नयाँ पुस्ताको त्रिकोणात्मक प्रेमकथा र अभिभावक पुस्ताबीचको द्वन्द्वलाई प्रस्तुत गरिएको छ। टिजरमा अभिनेता प्रभातपाल ठकुरीको नीति शाह र राजश्री थापासँगको प्रेमसम्बन्धको संकेत गरिएको छ भने मुकुन भुसाल र ऋचा शर्मालाई अभिभावकको भूमिकामा देखाइएको छ।
अन्तरजातीय प्रेमकथामा आधारित ‘जदौ’ले नेपाली समाजमा अझै विद्यमान जातीय विभेद र त्यसबाट उत्पन्न समस्यालाई कथाको केन्द्रमा राखेको छ। निर्देशक अन्जन शर्माका अनुसार चलचित्रले जातीय विभेदका कारण सिर्जना हुने सामाजिक समस्यासँगै त्यसको समाधानका लागि चालिएका प्रयासलाई प्रस्तुत गर्छ।
लेखक तथा निर्देशक काजी लिम्बूले चलचित्रले मनोरञ्जनसँगै जातीय भेदभाव र असमानताको अन्त्यका लागि सन्देश दिने बताए।
समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्ट र सिल्भर स्क्रिन इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्गबहादुर पुन, सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की र स्वस्तिका चौधरीलगायतको अभिनय रहेको छ।
प्रीति कौर, बाबुल गिरी र गोपाल लोहारको शब्द तथा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको चलचित्रका गीतमा राजनराज शिवाकोटी, रचना रिमाल, किरण गजमेर र बाबुल गिरीको स्वर छ। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
श्याम तामाङ र नवराज उप्रेतीको छायांकन रहेको चलचित्रलाई बनिष शाहले सम्पादन गरेका छन्। सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको चलचित्रमा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माता छन्। शान्ति पुडासैनी कार्यकारी निर्माता तथा विमला भण्डारी प्रोडक्सन हेड हुन्।‘जदौ’लाई एनजिसिएन ग्रुपले देशभर वितरण गर्नेछ।


