चितवन । भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा नेपाली सेनाले सञ्चालन गर्दै आएको सिनियर नेसनल क्याडेट कोर (एनसीसी) तालिम सुरु भएको छ। आइतबार आयोजित कार्यक्रममा तालिमको औपचारिक उद्घाटन गरिएको हो।
नेपाली सेनाको भरतपुरस्थित नयाँ सबुज गणसँगको समन्वयमा सुरु भएको तालिमको गुल्मपति प्रमुख सेनानी सुदीप तामाङ, विद्यालयकी प्राचार्य इन्दिरा कार्की र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्कीले संयुक्त रूपमा उद्घाटन गरे।
तालिमका लागि विद्यालयबाट छनोट भएका ३० जना विद्यार्थी सहभागी छन्। सहभागीमध्ये १५ जना छात्र र १५ जना छात्रा रहेका छन्।
एक सय दिनसम्म सञ्चालन हुने तालिममा विद्यार्थीलाई सैनिक कला, विपद् व्यवस्थापन, नेतृत्व विकासलगायतका विषयमा प्रशिक्षण दिइनेछ। तालिम अवधिमध्ये ७९ दिन विद्यालयमै प्रशिक्षण सञ्चालन हुनेछ भने बाँकी २१ दिन राष्ट्रिय सेवा दलको तालिम शिक्षालयमा सामूहिक बन्द प्रशिक्षण दिइने विद्यालयले जनाएको छ।
तालिम उद्घाटनका क्रममा गुल्मपति तामाङले सहभागी विद्यार्थीलाई प्रथम प्रवचन दिँदै तालिमको उद्देश्य र प्रकृतिबारे जानकारी गराएका थिए। एनसीसी तालिमले विद्यार्थीमा आत्मविश्वास वृद्धि गर्नुका साथै राष्ट्रप्रेम र नेतृत्व क्षमता विकास गर्न सहयोग पुग्ने उनले बताए।
नेपालमा वि.सं. २०२२ सालदेखि सुरु भएको राष्ट्रिय सेवा दल तालिममा हालसम्म सिनियर डिभिजनतर्फ १५ हजार २१५ र जुनियर डिभिजनतर्फ ७४ हजार ६७९ गरी कुल ८९ हजार ८९४ विद्यार्थी सहभागी भइसकेका छन्।
विद्यालयकी प्राचार्य इन्दिरा कार्कीले एनसीसी तालिमले विद्यार्थीमा राष्ट्रप्रेम, नेतृत्व विकाससँगै व्यक्तित्वको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
तालिम उद्घाटन कार्यक्रममा सहभागी ३० जना विद्यार्थीका अभिभावकसमेत उपस्थित थिए। नेपाली सेनाको व्यवस्थापनमा देशका ७७ वटै जिल्लामा प्रत्येक वर्ष एनसीसी तालिम सञ्चालन हुँदै आएको छ।


