काठमाडौं । हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘माइतीको आँगन’ सार्वजनिक गरिएको छ। निर्मला घिमिरे (निरू)ले स्वर दिएको गीतमा तीजको भावनासँगै आमाप्रतिको छोरीको प्रेम र सम्झनालाई भावुक ढंगले प्रस्तुत गरिएको छ।
सुमन पण्डितको शब्द तथा संगीत रहेको गीतका संगीत निर्माता अशेष अधिकारी हुन् भने रमेश सेन्चुरीले संगीत संयोजन गरेका छन्।
गीतमा लामो समयदेखि आमालाई भेट्न नपाएकी छोरीले आफ्नो बाल्यकाल र आमाले गरेको संघर्षलाई सम्झिएको कथा प्रस्तुत गरिएको छ। श्रीमान्को अनुपस्थितिमा एकल आमाले दुःख र संघर्ष गर्दै छोरी हुर्काएको प्रसंगले गीतलाई भावनात्मक बनाएको छ।
वरिष्ठ नृत्य निर्देशक कमल राईको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा झरना रिसाल र दिप्सा कार्कीले अभिनय तथा नृत्य गरेका छन्।
शिव ढकालको छायांकन रहेको भिडियोको सम्पादन रामप्रसाद चौधरी र रंग संयोजन रेनिश फागोले गरेका हुन्।
रंग पौडेल निर्माता रहेको भिडियोमा गोपाल कटुवाल कार्यकारी निर्माता तथा सिजन रोकाया सह–निर्माताका रूपमा रहेका छन्।


