काठमाडौं । गायिका नीशा सुनारले हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक गरेकी छन्। यसअघि भदौ १० गते सार्वजनिक गर्ने तयारी भए पनि नेपालमा आएको विनाशकारी बाढीका कारण गीतको रिलिज केही समय पछि सारिएको थियो।
नीशा सुनार र प्रकाश सपुतको स्वरमा रहेको गीतमा प्रकाश सपुतकै शब्द तथा संगीत छ। तीजको मौलिक परिवेश र उत्सवको भाव समेटिएको गीतको भिडियोमा प्रकाश सपुत, निरुता सिंह र विन्दु बोहराको नृत्य देख्न सकिन्छ। गायिका नीशा सुनार पनि भिडियोमा विशेष भूमिकामा प्रस्तुत भएकी छन्।
सुनिल वीकको निर्देशनमा तयार भएको भिडियोमा गम्भीर विष्टले कोरियोग्राफी गरेका छन्। हरि हुमागाईंको छायांकन तथा प्रविण भट्टको सम्पादन रहेको गीतको भिडियो आकर्षक बनाइएको छ।
यस गीतमार्फत गायक तथा मोडल प्रकाश सपुत र उनकी श्रीमती विन्दुले पहिलोपटक एकसाथ म्युजिक भिडियोमा अभिनय गरेका छन्। उनीहरूको जोडीलाई भिडियोमा सँगै देख्न पाउनु दर्शकका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।
त्यस्तै, अभिनेत्री निरुता सिंह पनि भिडियोमा देखिएकी छन्। पछिल्लो समय म्युजिक भिडियोमा निकै कम देखिँदै आएकी निरुताले गीत कर्णप्रिय लागेकाले आफूले भिडियोमा काम गरेको बताएकी छन्।
तीजको माहोललाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘लाली लपक्कै सारी सपक्कै’ले दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षको छ।


