काठमाडौं । एक्सन–थ्रिलर जनरामा निर्माण भएको नेपाली चलचित्र ‘कालमाण्डू’ आगामी पुस २४ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले चलचित्रमा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
सार्वजनिक गीतमा सम्राट न्यौपानेको स्वर तथा संगीत र रमेश देवकोटाको शब्द रहेको छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अनिलराज पौडेल र रोशनी कार्की राधाकृष्णको भूमिकामा देखिएका छन्। पुनम श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन छ।
अपराध, रहस्य, अपहरण, मानव तस्करी, हत्या र पारिवारिक सम्बन्धलाई कथाको मुख्य आधार बनाइएको चलचित्रमा काठमाडौंको बाहिरी चमकभित्र लुकेको अपराधको संसारलाई प्रस्तुत गरिएको निर्देशक सयनम अधिकारीले बताए।
चलचित्रको कथा १९ वर्षीया बहिनी हराएपछि उनको खोजीमा निस्कने एक दाजुको संघर्ष वरिपरि घुमेको छ। बहिनीको खोजी गर्ने क्रममा अपराधीहरूको संसारमा प्रवेश गर्न बाध्य हुने दाजुले सामना गर्ने जोखिम र चुनौतीलाई चलचित्रमा एक्सन तथा सस्पेन्समार्फत प्रस्तुत गरिएको निर्देशक अधिकारीले जानकारी दिए।
‘कालमाण्डू’मा एक्सन र थ्रिलरसँगै दाजु–बहिनीबीचको भावनात्मक सम्बन्ध तथा प्रेमको पक्षलाई पनि समेटिएको छ। चलचित्रमा गजित बिष्ट, अञ्जन थापा, अनिलराज पौडेल, राजन अधिकारी, रोशनी कार्की, अलिशा बास्तोला, ललना चिमरिया, सुगत करणजित, विशाल पहारी, राकेश कलागाईं र शिव अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।
मुभी ल्यान्ड नेपालको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन सयनम अधिकारीले गरेका हुन्। कमल थिङ निर्माता रहेको चलचित्रमा मिलन कटवाल र शम्भु श्रेष्ठले प्रोडक्सन व्यवस्थापन सम्हालेका छन्।
काठमाडौं, ललितपुर र भक्तपुरसँगै पर्साको ठोरीमा चलचित्रको छायांकन गरिएको हो। पवन सुस्लिङले छायांकन तथा सम्पादन गरेका छन् भने राजु लामा र मिस्टर काजीले द्वन्द्व निर्देशन गरेका छन्। रवि भुजेल सहायक निर्देशक, पुनम श्रेष्ठ कोरियोग्राफर तथा सम्राट न्यौपाने संगीत निर्देशक हुन्।
चलचित्रको वितरण सिंहदेवी प्रोडक्सनले गर्नेछ।


