काठमाडौं । असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिंगे दाउ २’ को नयाँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतको भिडियोमा दशैंको माहोललाई प्रस्तुत गरिएको छ।
यसअघि सार्वजनिक तीज गीत ‘जेठानी–देउरानी’ ले दर्शकमाझ राम्रो चर्चा पाइरहेका बेला निर्माण टिमले नयाँ गीत सार्वजनिक गरेको हो। ‘ए माया नजिकै सर’को भिडियोमा चलचित्रका मुख्य कलाकारहरू रातो टीका र जमरा लगाएर देखिएका छन् भने रोटे पिङमा कोरस कलाकारहरू रमाइरहेको दृश्य समेटिएको छ।
गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने रामचन्द्र काफ्ले र शान्तिश्री परियारले स्वर दिएका छन्। रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल विष्टको नृत्य देख्न सकिन्छ।
गीतको भिडियोमा केकी र आँचलबीचको झगडाको दृश्यसमेत समेटिएको छ। गीतले चलचित्रको कथासँगै दर्शकलाई दशैंको माहोलको अनुभूति गराउने निर्माण पक्षको विश्वास छ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता तथा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता छन्।
विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी. गुरुङको सम्पादन र रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत छ। ईश्वर घिमिरे प्रोडक्सन हेड हुन्।
चलचित्रमा केकी र आँचलसँगै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायत कलाकारको अभिनय छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रमा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन रहेको छ। चलचित्रको टिजर सार्वजनिक भएसँगै दर्शकमाझ चासो बढेको निर्माण पक्षले जनाएको छ।
यसअघि सार्वजनिक ‘झिंगे दाउ’ ले युट्युबमा ८० लाखभन्दा बढी भ्युज पाइसकेको छ। पहिलो श्रृंखलाको लोकप्रियताका कारण ‘झिंगे दाउ २’प्रति दर्शकको चासो बढेको निर्माण पक्षको भनाइ छ। चलचित्रको ट्रेलरले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको जनाएको छ।


