चितवन । एन पेनाङ एफसी मलेसिया तेस्रो चितवन गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली एपीएफ फुटबल क्लब काठमाडौंलाई ५–१ गोलले पराजित गर्दै पेनाङले अन्तिम चारमा स्थान बनाएको हो।
पेनाङको फराकिलो जितमा प्रताप राई र फागुराम थारुले समान दुई गोल गरे। पेनाङले एक गोल भने उपहारस्वरूप पाएको थियो। एपीएफका लागि बुद्धिमान राईले एक गोल फर्काए।
खेलमा सुरुवाती अग्रता भने एपीएफले लिएको थियो। तर पेनाङले एपीएफका हरि कार्कीबाट भएको आत्मघाती गोलमार्फत बराबरी गरेपछि खेलमा दबाब बढाउँदै लग्यो। त्यसपछि पेनाङले लगातार आक्रमण गर्दै पाँच गोलको जित निकाल्यो।
दुई गोल गरेका पेनाङका प्रताप राई केल्मी प्लेयर अफ दि म्याच घोषित भए।
अब पेनाङले सेमिफाइनलमा एप्पल गुरु सूर्यपुर एफसीको सामना गर्नेछ। सूर्यपुरले यसअघि ललितपुरको सातदोबाटो युथ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
प्रतियोगिताअन्तर्गत बुधबारदेखि सेमिफाइनलका खेल सुरु हुनेछन्। पहिलो सेमिफाइनलमा आयोजक भरतपुर फुटबल क्लब (बीएफसी) र देवदह ब्वाइज रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ।
आठ टोली सहभागी प्रतियोगिता असोज ३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।


