चितवन । अविनास स्याङताङ्गको सानदार गोलमा एप्पल गुरु सूर्यपुर एफसी कालिका हानामी तेस्रो चितवन गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा एनपेनाङ एफसी मलेसियालाई १–० गोलले पराजित गर्दै सूर्यपुरले उपाधि भिडन्तमा स्थान बनाएको हो। प्रतिस्पर्धात्मक खेलमा सूर्यपुरका लागि अविनासले निर्णायक गोल गरे।
खेलको ७८औँ मिनेटमा अविनासले करिब लङ रेन्जबाट गरेको शक्तिशाली प्रहारले सिधै जाली चुमेपछि सूर्यपुरले अग्रता लिएको थियो।
निर्धारित समयको अन्तिमतिर एनपेनाङले बराबरी गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। अतिरिक्त समयमा सूर्यपुरका सिर्जन क्षेत्रीले फागुराम थारुलाई डिबक्सभित्र लडाएपछि एनपेनाङले पेनाल्टी पाएको थियो। तर सनिश श्रेष्ठको पेनाल्टी प्रहार सूर्यपुरका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउ गर्दै रोके।
निर्णायक गोल गरेका सूर्यपुरका अविनास केल्मी प्लेयर अफ दि म्याच घोषित भए।
अब उपाधिका लागि सूर्यपुरले आयोजक भरतपुर फुटबल क्लब (बिएफसी)सँग प्रतिस्पर्धा गर्नेछ। बिएफसीले पहिलो सेमिफाइनलमा देवदह ब्वाइज रुपन्देहीलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।
फाइनल खेल असोज ३ गते शनिबार हुनेछ। प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।


