चितवन। चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा लामो समयदेखि चर्चित ५३ वर्षीय जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ। ‘ज्वाइँ राजा’का रूपमा समेत चिनिने रोनाल्डो बरण्डाभार वन क्षेत्रमा शनिबार बिहान मृत अवस्थामा भेटिएको हो।
हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर, सौराहाका प्रमुख मणिपुरन चौधरीका अनुसार रोनाल्डोको मृत्यु करेन्ट लागेर भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। उनका अनुसार हात्तीले बिजुलीको पोल ढालेको र त्यसक्रममा करेन्ट लागेर मृत्यु भएको हुनसक्ने देखिएको छ।
यद्यपि, चितवन राष्ट्रिय निकुञ्जले भने रोनाल्डोको मृत्युको कारणबारे अध्ययन भइरहेको जनाएको छ। मृत्युको वास्तविक कारण थप अनुसन्धानपछि मात्रै यकिन हुने निकुञ्जको भनाइ छ।
रोनाल्डोले चितवनको वन्यजन्तु संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। खोरसोरस्थित प्रजनन केन्द्रका पोथी हात्तीहरूसँग प्रजनन गर्ने प्रमुख जंगली भाले हात्तीका रूपमा रहेको रोनाल्डोबाट केन्द्रमा मात्रै ३३ वटा हात्तीका बच्चा जन्मिएका छन्।
सन् २००२ देखि चितवनमा देखिँदै आएको रोनाल्डोको नाम त्यही वर्ष भएको विश्वकप फुटबलमा ब्राजिलका चर्चित खेलाडी रोनाल्डो लोकप्रिय रहेकाले हात्ती सारका कर्मचारीले राखेका थिए।
रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा, विशेषगरी सौराहा र खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्र आसपास बस्ने गरेको थियो। निकुञ्जका पूर्व वन्यजन्तु चिकित्सक डा. विजय श्रेष्ठले रोनाल्डोको मृत्युले वन्यजन्तु संरक्षण क्षेत्रमा क्षति पुगेको बताएका छन्।
जंगली स्वभावका कारण रोनाल्डो स्थानीय बासिन्दा तथा हात्ती सुसारेमाथि समेत आक्रमण गर्ने गरेको बताइएको छ। निकुञ्जका अनुसार रोनाल्डोको आक्रमणबाट हालसम्म १५ जनाको ज्यान गएको थियो।
रोनाल्डोको मृत्युले एकातर्फ लामो समयदेखि चितवनमा परिचित जंगली भाले हात्ती गुमेको छ भने अर्कोतर्फ प्रजननका दृष्टिले समेत महत्वपूर्ण हात्तीको क्षति भएको संरक्षणकर्मीहरूले बताएका छन्।


