काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा करिब साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो।
असोज ९ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको ट्रेलरमा निखिललाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक टिजरमा देखाइएको एक्सनलाई ट्रेलरले थप विस्तार गरेको छ। तीव्र द्वन्द्वका दृश्य, एक्सन कोरियोग्राफी र मनोरञ्जनात्मक प्रस्तुतिले चलचित्र एक्सनप्रधान रहेको संकेत गर्छ।
यसअघि ‘भैरव’मार्फत एक्सन अवतारमा चर्चा कमाएका निखिलले ‘आचार्य’मा एक्सनलाई थप फराकिलो बनाएको ट्रेलरमा देखिन्छ। पछिल्लो समय नेपाली चलचित्रमा कम देखिँदै गएको ‘मास इन्टरटेनर’ शैलीलाई पुनः मूलधारमा ल्याउने प्रयासका रूपमा चलचित्रलाई प्रस्तुत गरिएको छ।
नेपाली बजेट, कन्टेन्ट र श्रमशक्तिको प्रयोगबाट पनि अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जनात्मक चलचित्र निर्माण गर्न सकिन्छ भन्ने उद्देश्यले ‘आचार्य’ निर्माण गरिएको निखिलले बताए।
‘हामी नेपाली फिल्मले पनि विदेशी शैलीका फिल्म बनाउन सक्छौं। त्यस्तो फिल्म बनाएर नेपाली दर्शकलाई मनोरञ्जन दिन सक्यौं भने जंग जित्नु छ,’ उनले भने।
निखिलले आफूले हरेक चलचित्रमार्फत केही नयाँ दिने प्रयास गर्दै आएको बताउँदै ‘आचार्य’मा पनि एक्सन र कन्टेन्टमा नयाँपन प्रस्तुत गरिएको दाबी गरे। दर्शकले चलचित्र हेर्दा त्यसको अनुभूति गर्ने उनको भनाइ छ।
चलचित्रमा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय रहेको छ। पूर्णिका सिजापती र सजिना श्रेष्ठले यही चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछन्।
त्यस्तै, चलचित्रमा बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोलालगायत कलाकारको अभिनय छ।
सौरभ लामा, मनु विक र नवराज थापाको छायांकन रहेको चलचित्रको एक्सन निर्देशन शुक्रराज शाहले गरेका हुन्। बन्दे प्रसादले सम्पादन गरेको चलचित्रको टिजर तथा ट्रेलर सन्देश शाहले तयार पारेका हुन्।
चलचित्रको नेपाल वितरण मनोज राठीले गर्दैछन् भने नेपालबाहिरको वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ। ओएसआर डिजिटल चलचित्रको डिजिटल पार्टनरका रूपमा रहेको छ।


