काठमाडौं । प्रतिक्षित चलचित्र ‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा करिब पौने चार मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो।
एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा प्रेम, आसक्ति, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात तथा मानवीय सम्बन्धका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ। हास्य र भावनात्मक पक्षलाई सँगसँगै अघि बढाइएको ट्रेलरले पारिवारिक सम्बन्धको कथालाई केन्द्रमा राखेको देखिन्छ। चलचित्र असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
निर्देशक बोहराले ‘चमेलीको पोइ’ विशुद्ध मनोरञ्जनात्मक चलचित्र भएको बताए। दर्शकलाई साढे दुई घण्टा पूर्ण मनोरञ्जन दिने उद्देश्यले चलचित्र निर्माण गरिएको उल्लेख गर्दै उनले भावनात्मक रूपमा पनि दर्शकको मन छुने विश्वास व्यक्त गरे।
करिब १८ वर्षपछि यही चलचित्रमार्फत ठूलो पर्दामा पुनरागमन गरेका चर्चित हास्य अभिनेता नारायण त्रिपाठीले ‘चमेलीको पोइ’बाट आफू आशावादी रहेको बताए। अमेरिकामा आयोजित विशेष प्रदर्शनबाट दर्शकको माया र साथ पाएपछि आफू थप उत्साहित भएको उनको भनाइ छ।
अमेरिकामा रहँदा नेपाली चलचित्रमा पुनरागमन गर्ने इच्छा रहेको बताउँदै त्रिपाठीले बीचमा आफैं चलचित्र निर्माण गर्ने प्रयास गरे पनि परिस्थितिले साथ नदिएको स्मरण गरे। उनले अब चलचित्र अभिनयलाई निरन्तरता दिने चाहना रहेको बताए।
दुई दशकअघि ‘प्रेमचरो’ उपनामले फिल्म तथा सानो पर्दामा चर्चित रहेका त्रिपाठी अमेरिका गएपछि ठूलो पर्दाको अभिनयबाट टाढिएका थिए।
अभिनेता मुकुनले ‘चमेलीको पोइ’ले दर्शकलाई भरपूर हँसाउनुका साथै केही ठाउँमा गम्भीरसमेत बनाउने बताए। आफूले यसअघि यस्तो प्रकारको कमेडी चलचित्रमा काम गर्ने अवसर नपाएको उल्लेख गर्दै उनले मनोरञ्जनका लागि चलचित्र नछुटाउन आग्रह गरे।
अभिनेता विल्सन विक्रम राईले चलचित्र मनोरञ्जनले भरिपूर्ण रहेको बताए। उनले नारायण त्रिपाठीसँग बाल्यकालमै ‘साथी’ चलचित्रमा स्क्रिन सेयर गरेको स्मरणसमेत गरे। यही चलचित्रबाट ठूलो पर्दामा डेब्यु गरेका उमेश राई ‘फुलन्देकी आमा’ले पनि आफू चलचित्रप्रति आशावादी रहेको बताए।
अभिनेत्री सुरक्षा पन्तले निर्देशक बोहरासँग ‘भैरे’पछि दोस्रोपटक सहकार्य गरेको बताइन्। आफूले खोजेजस्तै कथा, परिवेश, पात्र र चरित्रमा काम गर्ने अवसर पाएको उल्लेख गर्दै उनले मुकुन र नारायण त्रिपाठीजस्ता कलाकारसँग अभिनय गर्न पाउँदा गौरवान्वित महसुस भएको बताइन्।
निर्माता रामनारायण उपाध्यायले उत्कृष्ट चलचित्र निर्माणका लागि कुनै कसर बाँकी नराखेको बताए। दर्शकलाई भरपूर मनोरञ्जन दिने उद्देश्यसँगै चलचित्रमा सामाजिक सद्भाव र पारिवारिक प्रेमको कथालाई पनि समेटिएको उनको भनाइ छ।
धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, मुकुन, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, उमेश राई, अंशु महर्जन, बाबिन राई, तारा शर्मा, खड्गबहादुर पुन ‘खबपु’, रजनी गुरुङ, सुनीता सापकोटा, मीना आरएल शाही, रितु मल्ल ठकुरी र श्रेया नारायणलगायतको अभिनय छ।
शेरबहादुर तामाङको छायांकन रहेको चलचित्रको लेखनमा निर्देशक बोहरालाई शिवम अधिकारीले सघाएका छन्। सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको चलचित्रमा उदयविक्रम राणा, रितु मल्ल ठकुरी, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता छन्।
धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर तथा नारायण त्रिपाठी, प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली र सुदीप कुँवर सह–निर्माता रहेका छन्। चलचित्रका गीतमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत, कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ।चलचित्रलाई आरआर फिल्म्सले देशभर वितरण गर्नेछ।


