काठमाडौं । बहुप्रतीक्षित चलचित्र ‘१२ गाउँ २’को टिजर सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक टिजरमा एक्सन, फाइट, अपहरण, उद्धार र बदलाको कथालाई प्राथमिकता दिइएको छ।
टिजरमा अभिनेता तथा निर्देशक बिराज भट्ट र समीर भट्टलाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ। उनीहरूबीचको द्वन्द्व, फाइट र एक्सन दृश्यले चलचित्रप्रति दर्शकको उत्सुकता बढाउने देखिन्छ। अनुपविक्रम शाहीलाई भिलेनको भूमिकामा प्रभावशाली रूपमा प्रस्तुत गरिएको छ।
अपहरण, उद्धार र बदलाको घटनाक्रमसँगै अघि बढ्ने कथाले चलचित्रको पृष्ठभूमि स्पेनसँग जोडिएको संकेत टिजरले गरेको छ।
बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा सन्तोष सरकारले लेखेका हुन्। सरस्वती भट्ट निर्माता रहेको चलचित्रको छायांकन महेश पौडेलले गरेका छन्। चलचित्र आगामी असोज ३० गते फूलपातीको अवसरमा देशभर प्रदर्शनमा आउनेछ।
चलचित्रमा समीर भट्ट, कृशु, बिराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाललगायतका कलाकारको अभिनय छ। कृशु शाही (काफिया) र वर्षा इटनीले यसै चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गर्दैछन्।
चलचित्रमा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन्।


