नारायणगढ, असोज १२ गते । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२, बोटेटोलस्थित होटल रिभर क्राउनको क्रुज नारायणी नदीको बाढीले बगाएर पुलमा अड्किएपछि निकाल्ने प्रयास भइरहेको छ।
आइतबार साँझ नदीको बहावले बगाएको क्रुज नारायणी नदीमाथिको पुलको पूर्वी नवलपरासीतर्फको पहिलो पिलर र जमिनको भागमा अड्किएको अवस्थामा रहेको थियो। क्रुज निकाल्न चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. १७ गणबाट सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बानियाँ तथा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म, पूर्वी नवलपरासीबाट संयुक्त टोली परिचालन गरिएको छ।
टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलमा खटिएको र क्रुज निकाल्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो।
उहाँका अनुसार क्रुजलाई सुरक्षित रूपमा निकाल्न आवश्यक प्राविधिक तथा उद्धारका काम भइरहेको छ।


