काठमाडौँ । आगामी शुक्रबार अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को प्रचारप्रसारलाई निर्माण पक्षले तीव्रता दिएको छ। फिल्मको प्रचारका लागि आइतबार २५० भन्दा बढी साइकल यात्री सहभागी र्याली आयोजना गरिएको हो।
कीर्तिपुरबाट सुरु भएको साइकल र्याली कपनस्थित क्लब मण्डलामा पुगेर सम्पन्न भएको थियो। सहभागीहरूले ‘अक्षरा’ अंकित टिसर्ट लगाएर र्यालीमा सहभागिता जनाएका थिए। निर्देशक विनयराज पौडेलका अनुसार फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकमाझ फिल्मबारे जानकारी पुर्याउने उद्देश्यले र्याली आयोजना गरिएको हो।
र्याली तथा प्रचार कार्यक्रममा अभिनेत्री न्यान्सी खड्का, अभिनेता पुष्कर राउतसहित फिल्मका निर्माता तथा निर्माण पक्षको उपस्थिति थियो।

युनिभर्सल सर्टिफिकेट (यू) प्राप्त गरेको ‘अक्षरा’ सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्। २ घण्टा १४ मिनेट लामो फिल्मले छोरीले सुख पाउने आशामा चिन्दै नचिनेको धनी परिवारको केटासँग विवाह गराइदिएपछि उत्पन्न हुने पारिवारिक समस्याको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
फिल्ममा न्यान्सी खड्कासँगै सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्कालगायतको अभिनय छ। बालकलाकारतर्फ रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।
उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको फिल्ममा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता छन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्माता उग्रसेन ढुङ्गानाले लेखेका हुन्।
फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्। सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्मलाई दिपेन बस्न्यातले छायांकन गरेका छन् भने सम्पादन गौतम खड्काले गरेका छन्।
नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले फिल्मको नेपालभर वितरणको जिम्मा लिएका छन्। फिल्मको डिजिटल अधिकार भने ओएसआर डिजिटलले खरिद गरेको निर्माण पक्षले जनाएको छ।


