काठमाडौँ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को नयाँ गीत ‘थाक खोला’ सार्वजनिक भएको छ। बाँसुरी फिल्म्सको आधिकारिक युट्युबमार्फत सोमबार गीत सार्वजनिक गरिएको हो।
कालीप्रसाद बास्कोटाको स्वर, शब्द र संगीत रहेको गीतमा रिकेश गुरुङ किजको संगीत संयोजन, गिटारवादन तथा मिक्सिङ–मास्टरिङ छ। गीतमा हेमन्त कान्छा रसाइलीले सारंगी र कृष्ण लिम्बूले बेस गिटारमा साथ दिएका छन्।
गीतको भिडियोमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ र सिर्जना गुरुङ फिचर्ड छन्। भिडियोमा दयाहाङको मिरुना, सिर्जना र रिश्मासँगको सम्बन्ध, प्रेम तथा रमाइलो नोकझोकलाई प्रस्तुत गरिएको छ। पात्रहरूबीचको सम्बन्ध र भावनात्मक उतारचढावले गीतसँगै सिनेमाको कथाप्रति कौतुहलता बढाउने प्रयास गरिएको छ।
भिडियोमा थाक खोला, सेताम्य हिमाल तथा हरियाली डाँडापाखाका प्राकृतिक दृश्यलाई पनि आकर्षक ढंगले प्रस्तुत गरिएको छ। गीतका लागि छुट्टै नृत्य वा कोरियोग्राफीभन्दा सिनेमाकै कथाशैलीलाई निरन्तरता दिँदै पात्रहरूको सम्बन्ध, प्रेम र नोकझोकलाई दृश्यमा उतारिएको छ।
यसअघि सार्वजनिक भएको सिनेमाको टिजरले राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षको भनाइ छ। टिजरमा अभिनेत्री मिरुना मगरलाई नदेखाइएपछि दर्शकले उनको खोजी गरेका थिए। ‘थाक खोला’को भिडियोमा भने मिरुनालाई प्रस्तुत गरिएको छ।
‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ यस वर्षको दशैँको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ। सिनेमामा दयाहाङ राई, विपीन कार्की, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देललगायतका कलाकारको अभिनय रहेको छ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा रामबाबु गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी रहेको छ। सागर राज कार्यकारी निर्माता हुन्। सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।
सोमनाथ खनाल र तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा छन्। नेपालमा सिनेमाको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशी वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ।


