काठमाडौं। सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘बाटुलो जून’ टिजर सार्वजनिक भएसँगै चर्चामा आएको छ। अभिनेता अनमोल केसी स्टारर चलचित्रको टिजरले दर्शकको राम्रो प्रतिक्रिया पाउँदै युट्युब ट्रेण्डिङमा समेत स्थान बनाउन सफल भएको छ।
शुक्रबार सार्वजनिक भएको टिजर रिलिजको तीन दिनमै युट्युबको फिल्म चार्टतर्फ नेपालमा पहिलो नम्बरमा आएको निर्माण पक्षले जनाएको छ। नेपालसँगै एक दर्जनभन्दा बढी देशमा समेत टिजर ट्रेण्डिङमा रहेको बताइएको छ।
‘बाटुलो जून’ले ३० को दशकमा आधारित प्रेमकथा प्रस्तुत गरेको छ। आदर्श प्रेमलाई केन्द्रमा राख्दै तत्कालीन सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने शैलीलाई चलचित्रमा प्रस्तुत गरिएको छ। प्रविधिमैत्री र तीव्र गतिमा बदलिएको पछिल्लो पुस्ताको प्रेमभन्दा फरक तत्कालीन समाज र प्रेमको परिवेशलाई कथानकमा समेटिएको निर्माण पक्षले जनाएको छ।
चलचित्रलाई भुवन केसीले निर्देशन गरेका हुन्। चलचित्रमा अनमोल केसी र प्रिन्सी खतिवडा प्रमुख भूमिकामा छन्। टिजरमा अनमोलको गेटअप, संवाद वाचन शैली र अभिनयलाई दर्शकले रुचाएका छन् भने डेब्यू अभिनेत्री प्रिन्सीको उपस्थितिले पनि प्रशंसा पाएको छ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन तथा रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ। प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा रहेका छन्।
जिया केसी र भविष्य खड्काले निर्माण गरेको चलचित्रमा विवेक थापा सह–निर्माता छन्। ‘बाटुलो जून’ आगामी कात्तिक २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ।


