काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री मलिका महतको जोडीलाई दर्शकले अत्यधिक रुचाएको देखिएको छ । चलचित्र ‘आ बाट आमा २’मा समावेश गीत ‘अचेल किन कान्छी’को भिडियोले युट्युबमा ६० लाख ५० हजारभन्दा बढी भ्युज पाएको छ ।
गीत सार्वजनिक भएको सातौँ दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको हो । समाचार तयार पार्दासम्म भिडियोमा एक लाखभन्दा बढी लाइक र ६ हजार ६ सयभन्दा बढी कमेन्ट आइसकेका छन् । अधिकांश कमेन्टमा दर्शकले पल र मलिकाको जोडीको प्रशंसा गरेका छन् ।
कतिपय दर्शकले पल र मलिकालाई ‘नेपाली फिल्म इन्डस्ट्रीका राजा–रानी’को संज्ञा दिएका छन् । प्रेमकुमार नामका एक दर्शकले कमेन्टमा पल र मलिकाको जोडीलाई ‘परफेक्ट जोडी’ भन्दै आगामी दिनमा उनीहरूलाई लिएर थप राम्रा र स्तरीय चलचित्र निर्माण हुनुपर्ने बताएका छन् ।
दर्शकको चाहनालाई ध्यानमा राखेरै पल र मलिकालाई चलचित्रमा जोडीका रूपमा प्रस्तुत गरिएको निर्देशक चन्द्र पन्तले बताएका छन् । उनका अनुसार दर्शकको मागअनुसार कथा तयार पारिएको र सोहीअनुसार पल–मलिकाको जोडीलाई चलचित्रमा लिइएको हो ।
‘अचेल किन कान्छी’ एक साताअघि सार्वजनिक गरिएको थियो । सार्वजनिक भएदेखि नै गीतले दर्शकको उल्लेख्य ध्यान खिचिरहेको छ । गीतको भ्युज निरन्तर बढिरहेकाले छिट्टै एक करोड भ्युज पुग्ने अपेक्षा निर्माणपक्षको छ ।
डान्सिङ शैलीको गीतमा पल शाह र मलिका महतसँगै आकाश श्रेष्ठलाई पनि देख्न सकिन्छ । सामूहिक विवाहको परिवेशमा पल र मलिका नृत्य गरिरहेको दृश्यमा आकाशलाई खलनायकको भूमिकामा प्रस्तुत गरिएको छ । आकाश चलचित्रमा किन खलनायकका रूपमा देखिएका छन् भन्ने प्रश्नको जवाफ भने चलचित्र प्रदर्शनपछि मात्रै खुल्ने निर्माणपक्षले जनाएको छ ।
‘आ बाट आमा २’ पल शाह र मलिका महतको पहिलो सहकार्य भएको चलचित्र हो ।
गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । बाबुल गिरीले गीतको शब्द तथा संगीत तयार पारेका हुन् । गीतमा रवि ओड र गंगा सोनामको स्वर रहेको छ । शंकरसिंह ठकुरी, प्रेम राई, अञ्जना खतिवडा र सुस्मिता दाहालले कोरसमा साथ दिएका छन् ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडालगायत कलाकारको अभिनय छ ।
चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टको रहेको छ । करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेका छन् ।
नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल हो । चलचित्रलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्नेछ ।


