काठमाडौं । चलचित्र ‘अक्षरा’ प्रदर्शनमा आउन तीन दिन बाँकी रहँदा निर्माणपक्षले स्याड सङ सार्वजनिक गरेको छ । शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा समावेश ‘भाग्यले हो कि’ बोलको गीत निर्माणपक्षले सार्वजनिक गरेको हो ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार न्यान्सी खड्का, सुशील सिटौला र रिस्ता अधिकारीलाई प्रस्तुत गरिएको छ । ‘भाग्यले हो कि, मलाई जिन्दगीले ढाँट्यो’ भन्दै न्यान्सीलाई भावुक अवस्थामा देखाइएको छ भने सुशील र रिस्ताको पात्रलाई पनि गीतमा भावनात्मक रूपमा प्रस्तुत गरिएको छ ।
गीतको भिडियोले चलचित्रको कथामा आउने भावनात्मक उतारचढावको संकेत गरेको छ । यद्यपि, गीतमा देखाइएको घटनाक्रमको वास्तविकता भने चलचित्र प्रदर्शनपछि मात्रै खुल्नेछ ।
‘भाग्यले हो कि’मा रचना रिमालको स्वर रहेको छ । सुरेन्द्र रानाको शब्द रचना तथा कर्णराज गिरीको संगीत रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।
असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’मा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सिर्जना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय छ । बालकलाकारतर्फ रोनक खड्का र प्रीसा ढुङ्गानाले अभिनय गरेका छन् ।
उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन् । क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रको कथा निर्माता उग्रसेन ढुङ्गानाले लेखेका हुन् ।
पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका छन् । चलचित्रकी प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन् ।
दिपेन बस्न्यातको छायांकन रहेको चलचित्रमा गौतम खड्काको सम्पादन छ । नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले चलचित्रको नेपालभर वितरणको जिम्मा लिएका छन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।


