काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टीको नयाँ सभापतिमा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न मतदानको मतगणना काठमाडौंस्थित राष्ट्रिय सभागृहमा राति अबेरसम्म चलेको थियो।
महाधिवेशन मिडिया सेन्टरका सदस्य महेश गौतमका अनुसार अन्तिम मतपरिणाममा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा जित हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्।
निर्वाचन समितिका अनुसार महाधिवेशनका कुल ७ हजार ३१७ प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए। तीमध्ये ५४ मत बदर भएको थियो।
नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै राष्ट्रिय राजनीतिमा स्थापित भएका थापा कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित भएका थिए। उनले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
पार्टीभित्र नीतिगत तथा सांगठनिक सुधारको एजेन्डा अघि सार्दै आएका थापा सभापतिमा निर्वाचित भएसँगै नेपाली कांग्रेसको नेतृत्वमा नयाँ अध्याय सुरु भएको छ। उनको नेतृत्वमा पार्टीको संगठन, नीति र आगामी राजनीतिक कार्यदिशामा कस्तो परिवर्तन आउँछ भन्ने चासो बढेको छ।



