काठमाडौं । अभिनेता तथा निर्देशक भुवन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बाटुलो जून’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा अभिनेता अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडाको रोमान्स देख्न सकिन्छ ।
युग भुसालको शब्द तथा संगीत रहेको गीतमा तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ । गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।
चलचित्र निर्माणमा भव्यता र गीतको प्रस्तुतिमा विशेष ध्यान दिने निर्देशक भुवन केसीले यस गीतमा पनि आफ्नो परिचित शैलीलाई निरन्तरता दिएका छन् । श्रुतिमधुर संगीत र आकर्षक दृश्य संयोजनले गीतलाई रोचक बनाएको छ । विशेषगरी, गीतको भिडियोले चलचित्रको टिजरमा प्रस्तुत गरिएको कथा र परिवेशलाई थप विस्तार गर्ने प्रयास गरेको छ ।
खोला किनार, घुम, डन्डिबियो र मकैघारीजस्ता दृश्यले गीतलाई ग्रामीण परिवेशसँग जोड्दै पुरानो समयको सम्झना गराउँछन् । दृश्यमा प्रस्तुत गरिएको प्रेमिल भाव र कलाकारको अभिनयले गीतलाई थप आकर्षक बनाएको छ ।
टिजर सार्वजनिक भएसँगै अनमोल केसीको लुकलाई लिएर दर्शकले उनका पिता भुवन केसीको झल्को आएको प्रतिक्रिया दिएका थिए । गीतमा अनमोलको हाउभाउ र प्रस्तुति हेर्दा भुवन केसीका पुराना चलचित्रका प्रेमिल गीतहरूको सम्झना हुन्छ । यसले अनमोललाई पुरानो शैलीको रोमान्टिक भूमिकामा हेर्न चाहने दर्शकको उत्सुकता बढाउन सक्छ ।
चलचित्रबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी प्रिन्सी खतिवडाले पनि आफ्नो प्रस्तुति र हाउभाउबाट ध्यान खिचेकी छन् । गीतमा उनको अभिव्यक्ति र अदाले पुरानो समयकी अभिनेत्री कृष्टि केसीको झल्को दिने प्रयास गरेको छ । भुवन केसीको रोजाइमा परेकी प्रिन्सीको पर्दामा देखिएको उपस्थितिले पनि दर्शकमा चासो बढाउने देखिन्छ ।
भुवन केसीको दोस्रो निर्देशकीय चलचित्र ‘बाटुलो जून’मा भुवन केसी र गरिमा पन्तको समेत अभिनय रहेको छ । सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको चलचित्र आगामी कात्तिक २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ ।
चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको चलचित्रलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । विवेक थापा चलचित्रका सहनिर्माता हुन् ।


