काठमाडौं। अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै नेपाली चलचित्र ‘सारथी’को प्रोमो सार्वजनिक गरिएको छ। किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार प्रोमो सार्वजनिक गरिएको हो।
बच्चाको रोदनबाट सुरु हुने प्रोमोमा निरुता सिंह काखमा दूधेबालक बोकेको अवस्थामा देखिएकी छन्। गम्भीर मुद्रामा प्रस्तुत निरुताको पैतालाबाट रगत बगिरहेको दृश्यले प्रोमोलाई थप रहस्यमय र भावनात्मक बनाएको छ। यसअघिका भूमिकाभन्दा फरक रूपमा देखिएकी निरुताको प्रस्तुतिले चलचित्रको कथावस्तुबारे दर्शकमाझ कौतूहल बढाएको छ।
चलचित्रमा निरुता सिंहसँगै उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय रहेको छ।
कुमार गजुरेलको निर्देशनमा बनेको चलचित्रको छायाङ्कन संकल्प भुजेलले गरेका हुन्। म्याग्दीको गुर्जा क्षेत्रमा छायाङ्कन गरिएको चलचित्र किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको हो। चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्।
रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन्। सहनिर्मातामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा रहेका छन् भने अमीर केसीले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन्।
राजु खतिवडा मुख्य सहायक निर्देशक रहेको चलचित्रमा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकका रूपमा छन्। चलचित्रमा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ भने वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।
‘सारथी’ आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।


