काठमाडौं । नेपाली फिल्म क्षेत्रको प्रतीक्षित फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । प्रदर्शनको पहिलो दिनमै फिल्मले दर्शकको उल्लेख्य साथ पाउने संकेत अग्रिम टिकट बुकिङले देखाएको छ ।
बहुप्रतीक्षित नेपाली फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ प्रदर्शनमा आएसँगै देशभरका अधिकांश सिनेमा हलमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ। अग्रिम बुकिङदेखि नै उच्च क्रेज देखाएको फिल्मले रिलिजको पहिलो दिन हलहरूमा दर्शकको उल्लेख्य चाप बढाएको छ।
‘कबड्डी’ शृङ्खलाका अघिल्ला चार फिल्मले बक्स अफिसमा सफलता हासिल गरेका थिए । त्यही लोकप्रियताका कारण पाँचौँ शृङ्खलाले पनि राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । यद्यपि, फिल्मको वास्तविक कमाइ भने प्रदर्शनपछि दर्शकको प्रतिक्रिया र हलमा देखिने चापले निर्धारण गर्नेछ ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकारको अभिनय रहेको छ ।
फिल्ममा रामबाबु गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्माता छन् । सञ्जय लामाको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन तथा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत रहेको फिल्मले अब बक्स अफिसमा कस्तो प्रदर्शन गर्छ भन्ने चासो बढेको छ ।


