काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार बिहीबार राति १० बजेर ३३ मिनेटमा नाग्छु सहरको बाकेन काउन्टीमा भूकम्प गएको हो ।
भूकम्पमा घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जनालाई सामान्य चोटपटक लागेको अधिकारीहरूले जनाएका छन् । शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्मको विवरणअनुसार भूकम्पका कारण ३३९ भन्दा बढी घर भत्किएका छन् ।
भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् । भूकम्पका कारण घरबारविहीन भएका नागरिकलाई आश्रय दिन प्रहरी तथा अग्नि नियन्त्रण विभागका उद्धार टोलीले अस्थायी पाल निर्माण गरिरहेका छन् ।
चीनको सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार पछिल्लो भूकम्प उक्त क्षेत्रमा पाँच वर्षयताकै सबैभन्दा शक्तिशाली हो ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ । भूकम्पबाट भएको समग्र क्षतिको आकलन गर्ने कामसमेत भइरहेको छ ।


