काठमाडौं । साउन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौथली’ले प्रदर्शनको १००औँ दिन पूरा गरेको छ। चलचित्रले चितवनको म्याङ्गो जनज्योति पर्सा र काठमाडौंको क्यूएफएक्स गुण सिनेमामा प्रदर्शनको सय दिन पूरा गर्दै विशेष उपलब्धि हासिल गरेको हो।
दर्शकको साथ र मायाका कारण चलचित्रले प्रदर्शनको सय दिनसम्मको यात्रा तय गर्न सफल भएको हो। चलचित्रले हालसम्म २६ करोड रुपैयाँभन्दा बढीको कलेक्सन गरेको बताइएको छ।
चलचित्रले प्रदर्शनको १००औँ दिन पूरा गरेको अवसरमा चितवनको म्याङ्गो जनज्योति पर्सामा चलचित्रको टिमको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
चलचित्र ‘गौथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
डा. भोला रिजालको कथामा बनेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन्। चलचित्रमा सुमन गिरी र डा. कपिल रिजाल निर्माता छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा रहेका छन्।
प्रदर्शनको १००औँ दिन पूरा गर्दै २६ करोड रुपैयाँभन्दा बढीको कलेक्सन गरेको ‘गौथली’को सफलतालाई नेपाली चलचित्र क्षेत्रका लागि सुखद उपलब्धिका रूपमा हेरिएको छ।


