असार १० , काठमाडौं । रणवीर कपुर अभिनित प्रतिक्षीत बलिउड फिल्म ‘शमशेरा’को ट्रेलर सार्वजनिक भएको छ । दास हुँदै नेता बनेको एक योद्धाको कथामा आधारित फिल्मको सार्वजनिक गरेको ट्रेलरमा स्वतन्त्रताका लागि रणवीरले गरेको संघर्ष र खलपात्रको भूमिकामा देखिएका सञ्जय दत्तसँगको द्वन्द्वलाई समेटिएको छ ।
खाकीको बर्दी र निधारमा सेतो टीका लगाएका सञ्जय ट्रेलरमा ‘भयंकर’ स्वरुपमा देखिएका छन् । रणवीरको प्रेमिकाको भूमिकामा देखिएकी वाणी कपुर पनि ट्रेलरमा अटाएकी छन् ।भिएफएक्सको अत्याधिक प्रयोग गरिएको ट्रेलरमा रणबीरको एक्सन सिक्वेन्स आकर्षक छ ।
फिल्ममा रणबीर कपूर, वाणी कपूर र सञ्जय दत्तसगै आशुतोष राणा, सौरभ शुक्ला, रोनित रोय र त्रिधा चौधरीको पनि मुख्य भूमिका छ ।लद्दाख क्षेत्रमा छायांकन भएको फिल्मलाई करण मल्होत्राले निर्देशन गरेका हुन् । जुलाई २२ मा रिलिज हुने ‘शमशेरा’का निर्माता आदित्य चोपडा हुन् ।



