असार ११ , कालिका । पूर्वी चितवनको कालिका नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि करिब ८६ करोड बजेट तर्जुमा गरेको छ । ११ औँ नगर सभाले ८५ करोड ९७ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो । सभामा उपमेयर विमला तामाङले बजेट प्रस्तुत गरेकी थिइन् ।
सो नगरपालिकाले केन्द्र सरकार, प्रदेश सरकार, आन्तरिक आम्दानी, जिल्ला समन्वय समिति, सडक बोर्डलाई आम्दानीको स्रोतको आधार बनाएको छ । आम्दानीतर्फ केन्द्रीय सरकारअन्तर्गत समानिकरण अनुदान १५ करोड ५६ लाख, सशर्त अनुदान २३ करोड ४२ लाख, विशेष अनुदान एक करोड, राजश्व बाँडफाँट ११ करोड ६० लाख ४ हजार, समपुरक अनुदान १ करोड, खानी तथा खनिज रोयल्टी ५ लाख, वन रोयल्टी ५ लाख आम्दानी गर्ने लक्ष्य रहेको छ ।
त्यसैगरी प्रदेश सरकारअन्तर्गत समानीकरण अनुदान १ करोड ४९ लाख, सशर्त अनुदान २ करोड ३९ लाख ६६ हजार, राजश्व बाँडफाँट ५ करोड ५० लाख २९ हजार, समपुरक अनुदान २ करोड ९९ लाख ९८ हजार आन्दानी गर्ने लक्ष्य रहेको उपमेयर तामाङले जानकारी दिइन् ।
आन्तरिक आयतर्फ सो नगरपालिकाले वडा र राजश्व शाखाबाट ३ करोड ५० लाख, रजिष्टेसन मालपोत कार्यालयबाट ४ करोड, राजश्व बाँडफाँट खोलाजन्य पदार्थबाट एक करोड तथा जिल्ला समन्वय समितिबाट १ करोड, सडक बोर्डबाट ४० लाख, जनसहभागिताबाट १ करोड, नगर मौजाद १० करोड आम्दानी गर्ने लक्ष्य राखिएको छ ।
खर्चतर्फ प्रशासनिक खर्च १२ करोड ५० लाख, केन्द्रीय सरकारतर्फ सशर्त कार्यक्रम २३ करोड ४२ लाख, समपुरक अनुदान कार्यक्रम २ करोड, विशेष अनुदान कार्यक्रम एक करोड, प्रदेश सरकारको समपुरक कार्यक्रम ५ करोड ९९ लाख ९६ हजार, सशर्त कार्यक्रम २ करोड ३९ लाख ६६ हजार खर्च गर्ने लक्ष्य लिइएको छ ।
त्यसैगरी वडागत योजनामा ९ करोड, क्रमागत योजना तथा कार्यक्रम ११ करोड, जनसहभागिताको फिर्ता १ करोड, विपद् व्यवस्थापन कोष १ करोड ५० लाख, आर्थिक, सामाजिक र पूर्वाधार विकासमा ११ करोड ५५ लाख ८९ हजार,प्रशासनिक भवन निर्माणको बाँकी काम र व्यवस्थापन ३ करोड, विविध सार्वजनिक निर्माण १ करोड, सडक बोर्ड कार्यक्रम ६० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य रहेको मेयर विनोद रेग्मीले जानकारी दिए ।
नगर सभाको उद्घाटन सत्रमा मेयर विनोद रेग्मीले असार ८ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बिहीबार सम्पन्न नगर सभाको दोस्रो सत्रमा बजेट तथा आर्थिक विधेयक प्रस्तुत गरिएको हो । नगर सभाले नीति तथा कार्यक्रम, बजेट र आर्थिक विधेयक पारित गरेको प्रमुख प्रशासकीय अधिकृत निशानराज गौतमले जानकारी दिए ।


