असार २५ ,चितवन । पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको आज शनिबार चितवनमा पहिलो जिल्ला भेला हुने भएको छ ।जिल्ला भेलाका लागि लामिछाने शुक्रबार साँझ चितवन आएका हुन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले शनिबार दिउँसो १२ बजेपछि चितवन जिल्ला भेला हुने बताए । उनले भने, ‘कसरी देशको उज्ज्वल भविष्य कोर्न सकिन्छ त्यसको प्रारुप चितवन भेलाले कोर्नेछ । हामी यहाँ भाषण गर्दैनौँ, नागरिकका कुरा सुन्छौँ । देश निर्माणको रेखा कोर्नेछौँ ।’
हाकिमचोकस्थित चितवन मिडटाउन (सिएमटी) रिसोर्टमा हुने भेलामा चितवनका युवापुस्ताको उल्लेख्य उपस्थिति रहने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । पत्रकार सम्मेलनमा पार्टीका नेता लामिछानेले भने, ‘आफ्नो एकोहोरो भाषण सुनाउन म आएको होइन, युवाहरुको कुरा सुन्ने कार्यक्रम हो । उनीहरुको कुरा सुनेर नै हामीले देश निर्माणको मार्गचित्र कोर्नेछौँ ।’
लामिछानेका अनुसार आज शनिबार तीन चरणको कार्यक्रम हुनेछ । पहिलो चरणमा नागरिकका कुरा सुन्ने कार्यक्रम रहन्छ । दोस्रो चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला हुनेछ र तेस्रो चरणमा वडा तह र पालिकासम्मको कमिटी बन्नेछ ।
भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा लामिछानेले आफू आगामी चुनावमा कहाँबाट उठ्ने निर्णय गरिनसकेको बताए । उनले भने, ‘अहिले नै म यही ठाउँबाट उठ्छु भनेर कुनै निर्णय गरेको छैन । जान्नेका कुरा सुन्छु, अवस्थालाई राम्रोसँग बुझ्छु । चितवन, काठमाडौँ या अन्य जुनकुनै ठाउँ हुन सक्छ, केही समय अझै प्रतीक्षा गरौँ ।’
चितवनमै जिल्ला भेला आयोजना गर्नुको कारण के हो ? भन्ने प्रश्नमा लामिछानेले भने, ‘यो कुरा देशवासीलाई थाहा भएको हुनुपर्छ, जतिबेला मलाई आपत परेको थियो त्यतिबेला चितवनले मलाई ठूलो गुन लगाएको छ, देशभरका मानिस मलाई आपत पर्दा चितवन आएका थिए । चितवनवासीले लगाएको त्यो गुन म कहिल्यै बिर्सन सक्दिनँ ।’
२०७६ सालमा पत्रकार शालिकराम पुडासैनीले चितवन आएर आत्महत्या गरेपछि रवि लामिछानेलाई दोषी दुरूत्साहन अभियोग लागेको थियो । सोही अभियोगमा लामिछाने केही दिन चितवन प्रहरी हिरासतमा रहेका थिए । त्यसबेला रविको रिहाइका लागि चितवनमा ठूलो जनमानस उत्रेका थिए । त्यतिबेला चितवनले लगाएको गुन देखेर नै रविकै अगुवाइमा चितवनमा पहिलो जिल्ला भेला आयोजना भएको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरु बताउँछन् ।


