असार २५ भरतपुर। चितवनका वरिष्ठ पत्रकार दीपक आचार्यले नेपाल प्रेस युनियनको साउन ६ र ७ गते हेटौंडा हुने नवौं महाधिवेशनमा केन्द्रीय अध्यक्षमा उमेदवारी दिने भएका छन्। नेपाल प्रेस युनियन चितवनले युनियनको केन्द्रीय वरिष्ठ उपाध्यक्ष समेत रहेका आचार्यलाई केन्द्रीय अध्यक्षमा उठाउने निर्णय गरेको छ।
नेपाल प्रेस युनियन चितवनले शनिवार आयोजना गरेको उमेदवारी घोषणा समारोहमा सम्बोधन गर्दै वरिष्ठ पत्रकार आचार्यले हाल नेपालको पत्रकारिता विषम परिस्थितिमा रहेको तथा पत्रकारिता कमजोर भयो भने आम नागरिकको सुचनाको हक संकुचित हुने बताए। आचार्यले स्थानीय मिडिया र पत्रकारहरुको कोरोना संक्रमण न्यूनिकरणमा ठूलो भूमिका रहेको उदारहण दिंदै स्थानीय मिडिया र पत्रकारहरुलाई संघीय सरकार र स्थानीय निकायहरुले सहयोग गर्नु पर्ने बताए। प्रेस युनियनको आसन्न निर्वाचनमा मिडियामैत्री कानुन र पत्रकारहरुको हक हितको मुद्दालाई प्राथमिकता दिएको आचार्यको भनाइ छ।
उमेदवारी घोषणा सभामा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य बसन्त पराजुलीले पत्रकार आचार्य पत्रकारको हक हितमा लागि पर्ने व्यक्तिव भएकोले अध्यक्षमा उमेदवारीको सबैको साथ रहने बताए। कार्यक्रममा युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले वरिष्ठ पत्रकार आचार्यको विजयको लागि सबै जिल्ला शाखा र मतदाताहरुलाई संस्थागत पहल गरिने जानकारी दिए।



