साउन २४ , काठमाडौं ।भरतपुर महानगरपालिका– २१ पार्वतीपुरका ५६ वर्षीय टीकाराम विक मृत भेटिएका छन् । मंगलबार बेलुकी ४ः२० बजेको समयमा टीकाराम विक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् ।
आफ्नै घरको कोठामा भित्रबाट चुकुल लगाई ओछ्यानमा लडिरहेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गीतानगर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ढोकाको चुकुल फुटाई हेर्दा मृतक टीकाराम खुट्टाले भुईंमा टेकी टाउको र जिउको भाग खाटमा घोप्टो अवस्थामा रहेको र निजको तालुको भागमा काटेको चोटबाट अत्यधिक रक्तश्राव भई सिरानीमा जमेको अवस्थामा रहेको फेला पारेको हो ।
प्रहरीका अनुसार भित्रबाट कोठाको चुकुल लगाई ओच्छयानमा लडिरहेकाे देखेपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार खुट्टाले भुइँमा टेकेको, टाउको र जिउको भाग खाटमा घोप्टोपरेको अवस्थामा विक भेटिएका थिए । तालुको भागमा काटेको चोट थियो ।
अधिकारीले भने, ‘सोमबार बिहान झगडा हुँदा श्रीमतीले अचानोले टाउकोमा हान्दा उक्त चोट लागेको रहेछ । थप अनुसन्धान जारी छ । शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल लगिएको छ । प्रहरीले टीकारामकी श्रीमती बिनमायालाई नियन्त्रणमा लिएर अनुसन्धानअगाडि बढाएको छ ।


