भाद्र २९ ,काठमाडौं । पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बन्ने भएका छन्। राप्रपा चितवनले यसअघि नेकपा (माओवादी केन्द्र) अध्यक्षसग भिडेको पूर्वमन्त्री पाण्डेलाई क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको हो।
राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले पूर्वमन्त्री पाण्डेलाई यसपाली फेरि क्षेत्र नम्बर ३ बाट जिताउने गरी अभियान सुरु भएको बताए। उनले प्रदेशतर्फ ३ (क) मा गिरिबहादुर तामाङ ज्ञानजंग, ३ (ख) मा प्रदेश सांसद तथा राप्रपाका केन्द्रीय सहमहामन्त्री रिना गुरुङको नाम सिफारिस भएको जानकारी दिए।
ढकालका अनुसार क्षेत्र नम्बर ३ राप्रपाको बलियो जनआधार भएको क्षेत्र हो। राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले तत्कालीन क्षेत्र नम्बर ५ मा पूर्वमन्त्रीले गरेका कामले चुनाव जित्न सहज रहेको दाबी गरे। २०७० मा दोस्रो संविधानसभा चुनावमा गठबन्धन नहुँदा पाण्डेले एमाले, काँग्रेस, माओवादी उम्मेदवारलाई पराजित गर्दै संविधानसभा सदस्य बनेका थिए।
२०७४ मा गठबन्धनका कारण विजयी हुन नसकेका पाण्डे यसपाली जित्ने रणनीतिमा छन्। पाराप्रपा नवलपुरले नवलपुर-१ बाट पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउन सिफारिस गरेको छ।


