असोज ४, चितवन । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) चितवनले ‘दसैं फुट एण्ड म्युजिक फिएस्टा’ गर्ने भएको छ ।रेबान चितवनले नेपालीहरुको महान पर्व विजया दशमीको अवसर पारेर असोज १६ गते फुलपातीको दिन उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम नारायणगढको क्याम्पाचौरमा हुने आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ ।
१६ गते फुलपातीका दिन हुने कार्यक्रममा खानाका स्टलहरुसँगै नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहने रेबान चितवनका अध्यक्ष अच्युत भट्टले बताए । भट्टका अनुसार कार्यक्रम परिसरमा रेबान चितवनको सदस्य रहेका ४० रेष्टुरेन्टका स्टलहरु रहनेछन् ।
टिपिकल नेपाली, नेवारीसँगै कोरियनलगायत बिभिन्न परिकारको खानाका स्टलहरु रहने उनले बताए । रेबानको सदस्यहरुलाई नि:शुल्क रुपमा स्टल उपलब्ध गराइने उनले बताए । कोरोनाले थलिएका रेष्टुरेन्ट व्यवसायीहरुको व्यवसाय चलायमान बनाउनका लागि फिएस्टा गर्न लागिएकोले स्टल नि:शुल्क उपलब्ध गराउने उनले बताए ।
ति स्टलहरुमा उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै श्वस्थकर खानेकुरा मात्रै बनाउन आग्रह गरिने उनले बताए । यस्तै रेबानको सदस्य बाहेक अन्य व्यवसायीले फरक स्वादका खानाका परिकारसहित प्रस्ताव ल्याए उनीहरुलाई पनि स्टल उपलब्ध गराउन सकिने भट्टले बताए ।
कार्यक्रममा नेपालकै चर्चित ‘द एज ब्याण्ड’ सँगै प्रकाश सपुत, विवेक वाइबा लामा (वेक), यबेश थापा तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । दिउँसो २ बजेबाट राति १० बजेसम्म चल्ने कार्यक्रममा एज ब्याण्डले करिब दुई घण्टा आफ्नो प्रस्तुति दिनेछ ।
कार्यक्रमका लागि पाँच सय रुपैयाँको टिकटको व्यवस्था गरिएको रेबान चितवनका कोषाध्यक्ष विशाल श्रेष्ठले बताए । कार्यक्रम सम्पन्न गर्नका लागि ३५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको श्रेष्ठले बताए । उनका अनुसार ६ हजार जनाले कार्यक्रम अवलोकन गर्ने अनुमान छ । यो कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिइने समेत उनले बताए ।


